वीरगंज , २५ पुस –
चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखिएका सातवटा क्यामेरा क्षतिग्रस्त भएका छन्। पुस ३ गतेदेखि सुरु गरिएको बाघ गणनामा राखिएका पाँच क्यामेरा हराएका छन् भने दुई क्यामेरा हात्तीले फुटाएको छ।
निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार हराएका क्यामेरामध्ये तीन थुम्सी क्षेत्र र दुई तमासपुर क्षेत्रमा थिए। टाइगर टप्स क्षेत्रमा राखिएका दुई क्यामेरा हात्तीले तोडेको उनले बताए। कुल २८६ ग्रिडमा क्यामेरा राखेर पहिलो भागको बाघ गणना सम्पन्न गरिएको थियो।
हाल दोस्रो भागमा १३ वटा क्याम्प स्थापना गरी ३३६ ग्रिडमा बाघ गणना सुरु गरिएको छ। यसमा १५० जना गणक खटिएका छन्। प्रत्येक भागमा दुई हप्ता क्यामेरा राखेर बाघको उपस्थिति र संख्या गणना गरिने छ।
चितवन–पर्सा ब्लकमा हाल ९५८ ग्रिडमा बाघ गणना भइरहेको छ। सन् २०२२ को तथ्याङ्कअनुसार नेपालमा ३५५ वयस्क बाघ रहेको पुष्टि भएको थियो, जसमा चितवनमा १२८, बर्दियामा १२५, बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ बाघ रहेका थिए।















