वीरगंज ,२५ पुस –
वीरगंज महानगरपालिकाले सरस्वती पूजाका नाममा विद्यार्थीहरूसँग कुनै पनि प्रकारको चन्दा वा शुल्क नउठाउन विद्यालयहरूलाई निर्देशन दिएको छ।
माघ ९ गते पर्ने सरस्वती पूजाका अवसरमा निजी विद्यालयहरूले विद्यार्थी तथा अभिभावकबाट शुल्क र चन्दा उठाउन थालेको गुनासो आएपछि महानगरपालिकाले बिहीबार सूचना जारी गर्दै यस्तो कार्य नगर्न निर्देशन दिएको हो।
महानगरको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेद्वारा जारी सूचनामा सरस्वती पूजाको बहानामा कुनै पनि शुल्क वा चन्दा नउठाउन, उठाइरहेको भए तत्काल रोक्न तथा लिइसकेको रकम फिर्ता गर्नसमेत निर्देशन दिइएको छ।
साथै, विद्यालयहरूले सरस्वती पूजाको नाममा चन्दा संकलन गरी विभिन्न सांस्कृतिक कार्यक्रम तथा गतिविधि सञ्चालन गर्ने गरेको पाइएको उल्लेख गर्दै महानगरपालिकाले पूजासँग सम्बन्धित सम्पूर्ण कार्यक्रम मर्यादित, व्यवस्थित र शैक्षिक उद्देश्यअनुसार सञ्चालन गर्न अनुरोध गरेको छ।















