वीरगंज , २६ पुस
वीरगंजस्थित परवानीपुर बाइपासमा शुक्रबार राति फोरक्लिप र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक युवकको मृत्यु भएको छ।
प्रदेश २–०३–०२३ प ७१ नम्बरको पल्सर मोटरसाइकल माल लोड गर्ने फोरक्लिपसँग ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका युवकलाई तत्काल वीरगंज–१४ बहुअरीस्थित वीरगंज हेल्थकेयर हस्पिटलमा उपचारका लागि लगिएको थियो। तर उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मृतकको पहिचान हालसम्म खुल्न सकेको छैन। शव अस्पतालमै राखिएको छ भने घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले सवारी साधन सञ्चालन गर्दा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।















