बारम्बार सरकार फेरिँदा मधेस प्रदेशको बजेट खर्च सुस्त

वीरगंज , २४ पुस –

चालु आर्थिक वर्षको पाँच महिनामा तीन पटक सरकार परिवर्तन हुँदा मधेस प्रदेश सरकारको बजेट खर्च निकै प्रभावित भएको छ। यस अवधिमा पुँजीगत बजेटको जम्मा २.४८ प्रतिशत मात्र खर्च हुन सकेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ।

आर्थिक वर्षको सुरुवातमा जसपा नेपालका सतीशकुमार सिंह, त्यसपछि करिब एक महिना एमाले नेतृत्वको सरकार र हाल नेपाली कांग्रेसका कृष्णप्रसाद यादवको नेतृत्वमा सरकार गठन भएको छ। कुल ४६ अर्ब ९८ करोड रुपैयाँको बजेटमध्ये पुस २१ गतेसम्म चालुतर्फ २ अर्ब ३३ करोड र पुँजीगततर्फ ७ करोड ४९ लाख गरी जम्मा २ अर्ब ४० करोड रुपैयाँ मात्र खर्च भएको छ।

बारम्बार सरकार फेरिँदा योजना कार्यान्वयन सुस्त भएको, टुक्रे योजनालाई प्राथमिकता दिने प्रवृत्ति कायम रहेको र बहुवर्षीय गौरवका आयोजना ओझेलमा परेको आरोप लाग्दै आएको छ। अर्थ मन्त्रालयले विनियोजन गरेको १ अर्ब ७४ करोड रुपैयाँ अहिलेसम्म खर्च नभएको विवरणमा उल्लेख छ।

मुख्यमन्त्री कृष्णप्रसाद यादवले सुशासनका लागि सुधार प्रक्रिया अघि बढाइएको र अब २५ लाख रुपैयाँभन्दा माथिका सबै विकास योजना ठेक्का प्रक्रियाबाट सञ्चालन गरिने निर्णय सार्वजनिक गरेका छन्। उनले कार्यालयहरूको नियमित अनुगमन र लापरवाहीमा कानुनअनुसार कारबाही गरिने स्पष्ट पारेका छन्।

सम्बन्धित पोस्टहरुः