वीरगंज , २७ पुस –
नेपाली कांग्रेसको विशेष महाधिवेशन आइतबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरू हुँदैछ।
सभापति शेरबहादुर देउवासहित अधिकांश संस्थापन पक्षका नेताहरूको विरोधबीच ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरू र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माको आह्वानमा आजदेखि विशेष महाधिवेशन सुरू हुन लागेको हो। विशेष महाधिवेशन आज र भोलिसम्म चल्नेछ।
आज विभिन्न क्षेत्रबाट निस्केको र्याली भृकुटीमण्डप पुगेपछि दिउँसो १ बजे विशेष महाधिवेशन उद्घाटन हुनेछ। विशेष महाधिवेशन पक्षधरले सभापति देउवालाई प्रमुख अतिथिका रूपमा निम्तो गरेका छन् तर उनी सहभागी हुने अवस्था क्षीण बन्दै गएको छ।
महाधिवेशन प्रतिनिधिहरू भने काठमाडौं आइसकेका छन्।
विशेष महाधिवेशन आयोजक समितिले आफ्नो पक्षमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधि उभिएको दाबी गरेको छ।
भृकृटीमण्डपमा शनिबार भएको पत्रकार सम्मेलनमा विशेष महाधिवेशनको पक्षमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधि पुगेको दाबी गरिएको हो।
विशेष महाधिवेशनको माग गर्दा असोज २९ गते ५४.५८ प्रतिशतले हस्ताक्षर गरेका थिए। त्यो संख्या बढ्दो रहेको उनीहरूको भनाइ छ।
केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पत्रकार सम्मेलनमा बोल्दै विशेष महाधिवेशन पक्षमा अहिले पनि हस्ताक्षर गर्ने र खुल्ने क्रम जारी रहेको बताए।
सभापति देउवालाई लामो समय साथ दिएका पूर्वउपसभापति गोपालमान श्रेष्ठ पनि विशेष महाधिवेशनका पक्षमा खुलेका छन्।
शिवाकोटीका अनुसार तनहुँ, झापा, धनुषा, रूपन्देही, मनाङ लगायतका जिल्लामा थप महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनका पक्षमा खुलेका छन्।














