वीरगंज , २७ पुस –
मधेस केन्द्रित जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच औपचारिक एकता भएको छ। आइतबार राजधानीमा आयोजित विशेष कार्यक्रममा दुवै दलले १२ बुँदे सम्झौतामा हस्ताक्षर गर्दै एकीकृत राजनीतिक यात्राको सुरुआत गरेका हुन्।
सम्झौताअनुसार एकीकृत दलको नाम जनता समाजवादी पार्टी (जसपा) नेपाल रहनेछ। पार्टीको संरक्षकमा महन्थ ठाकुर र अध्यक्षमा उपेन्द्र यादव चयन भएका छन्। पार्टी सञ्चालनका लागि तत्काल ४३ सदस्यीय केन्द्रीय समन्वय समिति र त्यसअन्तर्गत ११ सदस्यीय सचिवालय गठन गरिने सहमति भएको छ।
विगतमा अलग धारमा रहेका यी दुई शक्तिबीचको एकतालाई मधेसको राजनीतिमा महत्वपूर्ण ध्रुवीकरणका रूपमा हेरिएको छ। निर्वाचनको मुखमा भएको यस एकताले राष्ट्रिय राजनीतिमा समेत प्रभाव पार्ने अपेक्षा गरिएको छ।
एकीकृत पार्टीले मधेसका अधिकार, पहिचान, समावेशिता र विकासका एजेन्डालाई सामूहिक रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।















