वीरगंज, २७ पुस । डिजिटल ठगी गरेको आरोपमा दुईजना किशोर बारा जिल्लाको जीतपुर बजारबाट इलाका प्रहरी कार्यालय जीतपुरले पक्राउ गरेको छ ।
आज दिउँसो १ बजेको समयमा जीतपुरबजारको कृष्ण मोबाइल पसलका सञ्चालकलाई ठगी गरेको आरोपमा जीतपुरसिमरा उपमहानगरपालिका–१७ जैतापुर नजीकै रहेको रामनगर बस्ने अविनाश घिसिङ, सिमोन लामालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, सिमराले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका दुवैजनाले डिजिटल ठगी गर्ने गरेका छन् । शुरुमा मोबाइल पसलमा किशोरहरुले रु ५ हजारको सामान किन्ने र त्यसपछि पसलेलाई पैसा पठाउन भन्दै पसलेको स्क्यानर अन्य साथीलाई पठाउने गर्छन् । अन्य साथीले पसलेको स्क्यानरमा रु ५ हजारको सट्टा रु ५० हजार पठाउँछ । त्यसपछि किशोरले पसलेलाई मेरो साथीले झुक्किएर तपाईंलाई रु ५० हजार रकम पठाएको भन्दै ४५ हजार रकम फिर्ता मागेर लैजान्छन् । दुई युवकले फिर्ता पैसा लगिसकेपछि तेस्रो व्यक्ति जसले ४५ हजार रकम पसलेको खातामा पठाएको हुन्छ । उसले फोन गरेर आफनो ४५ हजार रकम माग गर्ने र नदिए पैसा पठाएको प्रमाणसहित ठगी मुद्दा दिने भनेर पसलेलाई धम्क्याउँदै ठगी गर्ने गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवैजना इलाका प्रहरी कार्यालय, सिमराको हिरासतमा छन् भने प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार यस ठगी कार्यमा ठूलै गिरोहको संलग्नता रहेको र पक्राउ परेका दुवैजना किशोर गिरोहको सदस्य हुन् ।














