वीरगंज , २८ पुस –
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज हुँदैछ। आइतबार साँझ अबेरसम्म उद्घाटन सत्र सञ्चालन भएपछि आजदेखि बन्दसत्रका कार्यक्रम सुरु हुन लागेका हुन्।
महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार बिहानको खाजापछि बन्दसत्र सुरु गरिनेछ। ढिलोमा बिहान १० बजेदेखि बन्दसत्रका औपचारिक कार्यक्रम अघि बढ्ने तयारी गरिएको छ।
प्रतिनिधिहरूको मागअनुसार महामन्त्री गगन थापाको नेतृत्वमा विशेष महाधिवेशन बोलाइएको हो। महाधिवेशनमा देशभरबाट २ हजार ६ सयभन्दा बढी प्रतिनिधिले नाम दर्ता गराएका छन्।
कार्यविधि बनाएर बन्दसत्र सञ्चालन गरिनेछ भने बन्दसत्रको सभापतित्व पार्टीका ज्येष्ठ सदस्यले गर्ने व्यवस्था गरिएको छ। बन्दसत्रमा नीतिगत तथा संगठनात्मक प्रतिवेदन प्रस्तुत भई त्यसमा छलफल हुने जनाइएको छ।














