वीरगंज , २८ पुस –
सिरहाको लहान नगरपालिका–१६ आरिदमार टोलमा जङ्गली हात्तीको आक्रमणबाट क्षति व्यहोरेका १० घरपरिवारलाई नगरपालिकाले आइतबार राहत उपलब्ध गराएको छ।
नगरप्रमुख महेश चौधरीका अनुसार पुस १७ गते राति हात्तीको आक्रमणमा परेका प्रत्येक परिवारलाई ५०–५० किलो चामलसहित आवश्यक खाद्यान्न प्रदान गरिएको छ। वृद्धवृद्धा, सुत्केरी तथा विशेष संवेदनशील परिवारलाई फाइबर सिरकसमेत उपलब्ध गराइएको छ।
चौधरीले भने, “घर मर्मत र पुनःस्थापनाका लागि प्रत्येक पीडित परिवारलाई १० हजार रुपैयाँ नगद राहत प्रदान गरिनेछ। दीर्घकालीन रूपमा जङ्गली जनावरको जोखिम घटाउन डिभिजन वन कार्यालय, सुरक्षाकर्मी र स्थानीय समुदायसँग मिलेर पूर्वसूचना प्रणाली, निगरानी र जनचेतनामूलक कार्यक्रम अघि बढाइनेछ।”













