मधेश सरकारको प्रवक्तामा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री जङ्गीलाल राय

जनकपुरधाम, २८ पुसः मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सो सरकारको प्रवक्तामा प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री जङ्गीलाल रायलाई तोकेको जनाएको छ । प्रदेश सरकारका मुख्यमन्त्री कृष्णाप्रसाद यादवको अध्यक्षतामा आज बसेको बैठकले सो निर्णय गरेको हो ।

साथै सो बैठकले प्रदेशस्तरीय समस्या समाधानका लागि तीनवटा उच्चस्तरीय समितिसमेत गठन गरेको मुख्यमन्त्री मन्त्रिपरिषद् सचिवालयले जनाएको छ ।

सरकारले प्रदेशमा रहेको राजनीतिक, प्रशासनिक, कानुनी तथा आर्थिक ÷सामाजिक समस्याको अध्ययन समाधानका लागि तीन÷तीन सदस्यीय समिति गठन गरेको हो । राजनीति तथा प्रशाासनिक समितिको संयोजकमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री श्याम पटेललाई तोकिएको छ, भने त्यस समितिको सदस्यमा खेलकुद तथा समाज कल्याणमन्त्री वसन्त कुशवाहा तथा उद्योग वाणिज्य तथा पर्यटनमन्त्री कनिश पटेल सदस्य रहेको बताइएको छ ।

कानुन, न्याय तथा मामिला समितिको संयोजकमा श्रम तथा यातायातमन्त्री मनिष सुमनलाई तोकिएको छ । सो समितिको सदस्यमा गृह,सञ्चार तथा कानुनमन्त्री फकिरा महतो तथा वन तथा वातावरणमन्त्री शङ्करप्रसाद चौधरीलाई तोकिएको मुखयमन्त्री यादवले जानकारी दिनुभएको छ ।

त्यसैगरी आर्थिक तथा सामाजिक समितिको संयोजकमा अर्थमन्त्री महेश यादवलाई तोकएको छ, भने सो समितिको सदस्यमा भौतिक तथा पूर्वाधारमन्त्री राजकुमार गुप्ता र शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारी रहेको जनाइएको छ । मधेश प्रदेश सरकारले सो समितिमार्फत समस्याको पहिचान, तथा समाधान गर्ने बताइएको छ । पत्रकार तथा सञ्चार क्षेत्रसँग समन्वय गर्ने ।

यसैबीच मधेश प्रदेश सरकारका प्रवक्ता नियुक्त हुनुभएका मन्त्री जङ्गीलाल रायले सञ्चार क्षेत्रसँग समन्वय गरेर कार्यगर्ने बताउनुभएको छ । प्रदेश सरकारले पादर्शी भई सबैको सहयोगमा काम गर्ने उहाँको भनाइ रहेको छ । रासस

सम्बन्धित पोस्टहरुः