वीरगंज महानगर–२० हरपतगंज (अपौनी) स्थित गढीमाई खेलमैदानमा जारी गढीमाई प्रिमियर लिगमा मङ्गलवार पनि लिग चरणका दुईवटा खेल सम्पन्न भएका छन् ।
पहिलो खेलमा टेढा टाइगर्स र दोस्रो खेलमा अठराहा स्ट्राइकर्स विजयी भएका छन् । पहिलो खेलमा टस जितेर पहिला ब्याटिङ गरेको ताम्राश्रीले निर्धारित १६ ओभरको खेलमा १४.२ ओभरमा सबै विकेट गुमाएर ९९ रन बनाएको थियो ।
प्रतिउत्तरमा सय रनको विजयी लक्ष्य पाएको टेढाले १४.५ ओभरमा १०४ रन बनाएर खेल जितेको हो । यो खेलको उत्कृष्ट खेलाडी टेढा टाइगर्सका लोकेश पटेल घोषित भए ।
त्यसैगरी, दोस्रो खेलमा सुधीर वारियर्सलाई अठराहा स्ट्राइकर्सले तीन विकेटले पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको सुधीर वारियर्सले निर्धारित १६ ओभरको खेलमा १५.३ ओभरमा सबै विकेट गुमाई १०९ रन बनाएको थियो ।
अठराहाले १५.२ ओभरमा सात विकेटको क्षतिमा ११० रन बनाएर खेल जित्यो । यो खेलमा अठराहाका खेलाडी अशोक यादव ‘म्यान अफ द म्याच’ घोषित भए ।














