वीरगंज , ३० पुस –
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टी संस्थापन समूहले कारबाही गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले थापा, शर्मा र सहमहामन्त्री फरमुल्ला मन्सुरलगायतलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो।
बैठकले पार्टी निर्णयविपरीत विशेष महाधिवेशन आह्वान गरेको भन्दै उनीहरूमाथि कारबाही गरिएको जनाएको छ। साथै विशेष महाधिवेशनको पक्षमा लागेकालाई आ–आफ्नो भूमिकामा फर्किन निर्देशन पनि दिएको छ।
महामन्त्रीद्वय थापा र शर्माले पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको मागअनुसार विशेष महाधिवेशन आह्वान गरेका थिए। तर उनीहरू सहभागी रहेको केन्द्रीय समितिको बैठकले नियमित महाधिवेशन पुसमा सम्भव नभए वैशाखमा गर्ने सहमति गरिसकेको थियो, जसमा थापा र शर्माले फरक मत राखेका थिए।
विशेष महाधिवेशन पक्षधर थापा र शर्माले बन्दसत्रबाट हुने निर्णयलाई अन्तिम मान्दै निर्वाचन समिति गठन गरी चुनावी प्रक्रिया अघि बढाएका थिए। पार्टी विभाजन रोक्न भन्दै मंगलबार तीन चरणमा छलफल भएको थियो भने आज बिहान सभापति शेरबहादुर देउवासँग पनि वार्ता भएको थियो। तर ती छलफलबाट कुनै निकास ननिस्किएपछि निर्वाचन प्रक्रिया अघि बढाइएको हो।
निर्वाचन समितिका अनुसार सभापति पदमा गगन थापाको मनोनयन दर्ता भइसकेको छ भने अन्य पदाधिकारीका लागि पनि मनोनयन प्रक्रिया सम्पन्न भइसकेको छ।














