वीरगंज । सखुवाप्रसौनी गाउँपालिकाको आयोजनामा गाउँ कार्यपालिकाको कार्यालय, पर्सामा गाउँ सभाको १६औँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशन गाउँपालिका अध्यक्ष यसवन्त यादवको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शर्मिला बिष्ट महतो, प्रमुख प्रशासकीय अधिकृत संजीव कुमार यादव, वडा नं. १ का अध्यक्ष बसुदेव महतो थारु, वडा नं. २ का अध्यक्ष चिरञ्जीवी महतो थारु, वडा नं. ३ का प्रतिनिधि मोजामिल अन्सारी, वडा नं. ४ का अध्यक्ष मोमोहदारीफ अन्सारी, वडा नं. ५ का अध्यक्ष अशेश्वर यादव तथा वडा नं. ६ का अध्यक्ष मुन्ना कमकरको उपस्थिति रहेको थियो।
अधिवेशनको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष यसवन्त यादवले स्थानीय सरकार जनताको प्रत्यक्ष सहभागिता र आवश्यकता अनुसार योजना निर्माण तथा कार्यान्वयनमा प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले पारदर्शिता, सुशासन र विकासलाई प्राथमिकतामा राख्दै गाउँपालिकालाई समृद्ध बनाउने लक्ष्य रहेको उल्लेख गर्नुभयो।
उपाध्यक्ष शर्मिला बिष्ट महतोले सामाजिक विकास, महिला, बालबालिका तथा विपन्न वर्गको सशक्तीकरणमा केन्द्रित कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो। उहाँले गाउँसभाबाट पारित हुने नीति तथा योजनाले स्थानीयस्तरमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो।
प्रमुख प्रशासकीय अधिकृत संजीव कुमार यादवले आर्थिक अनुशासन, सेवा प्रवाहको प्रभावकारिता तथा जनमुखी प्रशासन सञ्चालनमा गाउँपालिका सचेत रहेको बताउनुभयो। उहाँले सबै जनप्रतिनिधि र कर्मचारीको सहकार्यबाट विकास लक्ष्य हासिल गर्न सकिने धारणा राख्नुभयो।
विभिन्न वडाध्यक्षहरूले आ–आफ्ना वडाका समस्या, आवश्यकता र प्राथमिकताबारे मन्तव्य राख्दै शिक्षा, स्वास्थ्य, सडक, खानेपानी तथा रोजगारी सिर्जनामा जोड दिनुपर्ने सुझाव प्रस्तुत गरेका थिए।
अधिवेशनमा आगामी आर्थिक वर्षका नीति, कार्यक्रम तथा बजेट (पछि समावेश गरिने) सम्बन्धी छलफल गरिएको आयोजकले जनाएको छ।















