वीरगंज , १ माघ –
स्व. गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार वीरगंजका पत्रकार गोविन्द देवकोटालाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ पर्साले स्व. गिरीको पुण्यतिथिमा बिहीबार आयोजना गरेको कार्यक्रममा ५१ हजार रुपैयाँ राशीको उक्त पुरस्कार देवकोटालाई प्रदान गरिएको हो ।
कार्यक्रममा मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले देवकोटालाई नगद चेक र कदरपत्र हस्तान्तरण गरेका थिए । देवकोटा सामुदायिक रेडियो नारायणी एफएमका कार्यकारी अध्यक्ष तथा सामुदायिक रेडियो प्रशारक संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष हुन् ।
वीरगंजका पूर्व मेयर तथा नेपाल पत्रकार महासंघ पर्साका पूर्व अध्यक्ष गोपाल गिरीको २०६० साल माघ १ गते हत्या भएको थियो । उनको स्मृतिमा स्थापना गरिएको यो पुरस्कार यसअघि विभिन्न पत्रकारलाई प्रदान भइसकेको छ । पुरस्कार वितरण कार्यक्रम महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालको अध्यक्षतामा सम्पन्न भएको थियो भने बिभिन्न व्यक्तित्वहरुको उपस्तिथी थियो ।














