जसपा नेपालको केन्द्रीय समन्वय समितिमा प्रदीप यादव समेटिए

वीरगंज , १ माघ –

जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीचको एकतापछि गठित जसपा नेपालको केन्द्रीय समन्वय समितिमा पर्साका नेता तथा पूर्वमन्त्री प्रदीप यादवलाई सदस्य बनाइएको छ ।

गत पुस २७ गते दुवै पार्टीबीच औपचारिक एकतापछि गठन गरिएको ४८ सदस्यीय केन्द्रीय समन्वय समिति (केन्द्रीय कार्यसमिति) मा पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का निवर्तमान सांसदसमेत रहेका यादव समेटिएका हुन् । निर्वाचन आयोगमा जसपा नेपालले पेस गरेको अद्यावधिक विवरणमा यादवको नाम समावेश रहेको छ ।

यसअघि पुस २७ गते सार्वजनिक गरिएको केन्द्रीय समन्वय समितिको प्रारम्भिक नामावलीमा यादवको नाम नपरेपछि उनको पक्षबाट आलोचना भएको थियो । तर, अद्यावधिक प्रक्रियामा आफ्नो नाम समावेश भएको यादवले स्पष्ट पारेका छन् ।

यादवसँगै पर्साबाट लालबाबु राउत, लक्ष्मणलाल कर्ण र रमेश कर्मी गरी चार जना केन्द्रीय समन्वय समिति सदस्य बनेका छन् ।

यसअघि अशोक राई नेतृत्वको जसपामा उपमहासचिव रहेका प्रदीप यादव दुई हप्ता अघि उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा पार्टी समाहित गर्दै प्रवेश गरेका थिए । सोही क्रममा नेतृ रेणु यादव पनि जसपा नेपालमा प्रवेश गरेकी थिइन् ।

सम्बन्धित पोस्टहरुः