वीरगंज , १ माघ –
जनकपुरधाममा दुई छुट्टाछुट्टै घटनामा टिपरले ठक्कर दिँदा ७५ वर्षीय वृद्ध राजकिशोर यादवको घटनास्थलमै मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएकी छन् ।
धनुषा क्षिलेश्वनाथ नगरपालिका–रमदैयाभवाडीका यादवलाई आज शुभचोकमा ना८ख ८२५७ नम्बरको टिपरले ज७प २८३७ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मृत्यु भएको हो। जिल्ला प्रहरी प्रमुख रुगमबहादुर कुँवरका अनुसार तीव्र गतिका कारण दुर्घटना भएको थियो ।
त्यसैगरी रामानन्द चोकमा प्रदेश २–००३१ क ०७७५ नम्बरको टिपरले साइकललाई ठक्कर दिँदा मिथिला बिहारी नगरपालिका–७ की ३० वर्षीया नितु साह गम्भीर घाइते भएकी छन्। उनलाई उपचारका लागि काठमाडौँ पठाइएको छ।
स्थानीयले ठूला सवारी साधनको अव्यवस्थित सञ्चालनका कारण दुर्घटनापछि टिपरमा तोडफोड र आगजनीको प्रयास गरेका थिए। प्रहरीले घटनास्थल नियन्त्रणमा लिई मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाएको छ भने दुबै घटनामा संलग्न टिपर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।















