वीरगंज , ४ माघ –
निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएपछि शेरबहादुर देउवा पक्षधर नेताहरू सडक आन्दोलनमा उत्रिएका छन्। आयोगको निर्णय अवैधानिक रहेको दाबी गर्दै उनीहरूले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका हुन्।
देउवा पक्षले आयोगको निर्णय संविधान, कानुन र पार्टी विधानविपरीत भएको भन्दै आज सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ। यसअघि आयोगको निर्णय सार्वजनिक भएलगत्तै देउवा पक्षका नेता–कार्यकर्ताले आयोग परिसरमै विरोध प्रदर्शन गरेका थिए।
देउवा समूहले निर्णयविरुद्ध देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ। उता, कांग्रेसका ५३ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको हस्ताक्षरका आधारमा काठमाडौँमा विशेष महाधिवेशन गरी गगन थापा सभापतिमा चयन भइसकेका छन्। देउवा पक्षले भने विशेष महाधिवेशन विधानविपरीत भएको दाबी गर्दै आएको छ।
कांग्रेसभित्रको विवाद चर्किँदै जाँदा आउँदो निर्वाचन प्रभावित हुन सक्ने आँकलन गरिएको छ। यसैबीच देउवा समूह चुनावी तालिका स्थगनको मागसहित निर्वाचन आयोग जाने तयारीमा छ।














