वीरगंज , ४ माघ –
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट पूर्वमन्त्री तथा निवर्तमान सांसद ज्वाला साहलाई पुनः उम्मेदवार बनाउने निर्णय गरेको छ।
शनिबार साँझ बसेको एमाले सचिवालय बैठकले क्षेत्रीय कमिटीको सिफारिसलाई उल्ट्याउँदै साहलाई उम्मेदवार तोकेको हो। यसअघि गत पुस १९ गते बसेको क्षेत्र नम्बर ३ को क्षेत्रीय कमिटीको निर्वाचनमा साह चौथो स्थानमा परेकी थिइन्। सो निर्वाचनमा पहिलो, दोस्रो र तेस्रो स्थानमा मत पाएका अध्यानन्द पाण्डे, एम समिउल्लाह र सिमा ठकुरीको नाम मात्र सिफारिस गरिएको थियो।
तर सचिवालय बैठकले ती सिफारिसलाई बेवास्ता गर्दै साहलाई उम्मेदवार बनाएको हो। साह पार्टी अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्र मानिन्छिन्।
यसैगरी एमालेले बारा क्षेत्र नम्बर १ बाट निवर्तमान सांसद अच्युत मैनाली, क्षेत्र नम्बर २ बाट बलवीर चौधरी र क्षेत्र नम्बर ४ बाट निवर्तमान सांसद किसान श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टी उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन्।














