हरिखेतान क्याम्पस व्यवस्थापनको लापरबाहीविरुद्ध निर्णायक आन्दोलनको चेतावनी

वीरगंज , ४ माघ –

वीरगंजस्थित हरिखेतान क्याम्पसमा लामो समयदेखि देखिँदै आएको शैक्षिक, प्रशासनिक तथा विद्यार्थीसम्बन्धी गम्भीर समस्या समाधानमा सम्बन्धित निकाय उदासीन बनेको आरोप लगाउँदै विद्यार्थी पक्षले निर्णायक आन्दोलनको चेतावनी दिएको छ ।

विद्यार्थीहरूले क्याम्पसमा देखिएका समस्याबारे जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख जिल्ला अधिकारीसमक्ष औपचारिक रूपमा ज्ञापनपत्र बुझाइसकेको भए पनि हालसम्म कुनै ठोस परिणाम नआएको भन्दै गहिरो असन्तुष्टि व्यक्त गरेका छन् । प्रमुख जिल्ला अधिकारीले १० दिनभित्र क्याम्पस व्यवस्थापन समिति, शिक्षक र विद्यार्थी प्रतिनिधिसँग संयुक्त छलफल गरिने आश्वासन दिए पनि सो प्रतिबद्धता कार्यान्वयन नभएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा क्याम्पस व्यवस्थापन समितिको चरम लापरबाही, प्रशासनिक गैरजिम्मेवारी र विद्यार्थी अधिकारप्रति गरिएको खुला बेवास्ता प्रस्ट देखिएको आरोप लगाइएको छ । साथै, क्याम्पसमा प्रदान गरिने भनिएको छात्रवृत्ति सरकारी नभई निजी संस्थाबाट आएको हुन सक्ने गम्भीर आशंका रहँदा पनि अहिलेसम्म कुनै छानबिन सुरु नगरिनु विद्यार्थीमाथि गरिएको खुला अन्याय भएको जनाइएको छ ।

शैक्षिक अवस्था कमजोर बन्दै जानुका साथै शिक्षक–विद्यार्थीबीचको तनाव, आवागमन तथा सुरक्षासम्बन्धी समस्या पनि जस्ताको तस्तै रहेको विज्ञप्तिमा उल्लेख छ । विद्यार्थीहरूलाई बारम्बार ‘धैर्य गर्नुस्’ भन्ने बहानामा समय बिताउने प्रवृत्ति अब स्वीकार्य नहुने स्पष्ट चेतावनी दिइएको छ ।
विद्यार्थी पक्षले आजको मितिले तीन दिनभित्र

– विद्यार्थीका मागहरू स्पष्ट रूपमा सार्वजनिक गरी कार्यान्वयन प्रक्रिया सुरु गर्न,
– छात्रवृत्ति प्रकरणको निष्पक्ष छानबिन तत्काल अघि बढाउन,
– हरिवन क्याम्पसमा व्याप्त सम्पूर्ण विद्यार्थी समस्या समाधानतर्फ ठोस पहल गर्न
माग गरेको छ।

तोकिने समयसीमाभित्र माग सम्बोधन नभए हरिवन क्याम्पसको पठन–पाठनसहित सम्पूर्ण प्रशासनिक गतिविधि पूर्ण रूपमा बन्द गरी आन्दोलनलाई जिल्ला तथा केन्द्रीय तहसम्म विस्तार गरिने चेतावनी विज्ञप्तिमार्फत दिइएको छ ।

सम्बन्धित पोस्टहरुः