वीरगंज , ४ माघ –
मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाउन निर्वाचन आयोगले साइबर ब्युरोलाई पत्र पठाएको छ।
आयोगका अनुसार प्रसाईँले आइतबार भक्तपुरस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै गगन थापा पक्षले ५२ करोड रुपैयाँ दिएर निर्वाचन आयोगबाट मान्यता प्राप्त गरेको आरोप लगाएका थिए। आयोगले उक्त अभिव्यक्तिलाई तथ्यहीन र भ्रामक ठहर गर्दै साइबर कानुनअन्तर्गत कारबाहीका लागि निर्णय गरेको हो।
निर्वाचन आयोगको आइतबार बसेको बैठकले निर्वाचनको संवेदनशील समयमा सार्वजनिक रूपमा निराधार आरोप लगाई भ्रम फैलाउने कार्य गम्भीर भएको निष्कर्ष निकाल्दै साइबर ब्युरोलाई पत्राचार गर्ने निर्णय गरेको आयोग उच्च स्रोतले जनाएको छ।
स्रोतका अनुसार, “शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत विभिन्न व्यक्तिमाथि निराधार आरोप लगाइएको विषय आयोगमा जानकारीमा आएको थियो। निर्वाचन प्रक्रियामा असर पार्ने यस्ता गतिविधिप्रति कडाइका साथ कारबाही गर्नुपर्ने निष्कर्षसहित पत्र पठाइएको हो।”
आयोगले निर्वाचनको विश्वसनीयता र सार्वजनिक विश्वास जोगाउन यस्ता भ्रामक अभिव्यक्तिमाथि कडा निगरानी र कानुनी कदम चालिने स्पष्ट पारेको छ।














