वीरगंज , ४ माघ –
चर्चित राजावादी अभियन्ता स्वागत नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन्। उनले आगामी प्रतिनिधिसभा निर्वाचनमा राप्रपाबाट झापा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दिने तय भएको जनाइएको छ।
नेपाल यसअघि पनि झापा–२ बाट स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए। अघिल्लो निर्वाचनमा उक्त क्षेत्रमा नेकपा एमालेका देवराज घिमिरे विजयी भएका थिए भने नेपाल दोस्रो स्थानमा सीमित भएका थिए। उनी घिमिरेभन्दा २ हजार २ सय २९ मतले पछि परेका थिए। यसपटक पनि झापा–२ मा एमालेबाट घिमिरे नै उम्मेदवार बन्ने तयारीमा छन्।
राजसंस्था पुनर्स्थापनाका लागि गठन गरिएको जनआन्दोलन समितिका प्रवक्ता रहेका स्वागत नेपाल पेशाले कानून व्यवसायी हुन्। उनले भोलि राप्रपाको केन्द्रीय कार्यालयमा औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्ने कार्यक्रम रहेको पार्टी स्रोतले जनाएको छ।














