वीरगंज , ४ माघ –
मधेश प्रदेशमा नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य रहबर अन्सारीले पदबाट राजीनामा दिएका छन्। उनको राजीनामा स्वीकृत भइसकेको छ।
अन्सारी केही दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरिसकेका छन्। उनी आगामी प्रतिनिधिसभा निर्वाचनमा बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्ने तयारीमा रहेको जनाइएको छ।
रहबर अन्सारीले राजीनामा पत्रमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई माओवादी केन्द्रका पूर्वअध्यक्ष भन्दै सम्बोधन गरेका छन्। साथै, उनले आफ्नो राजीनामाको बोधार्थ जनयुद्धका शहीद परिवार, परिवर्तनको नाममा अन्ततः सत्ता र सुविधा खोज्नेहरू, अवसरवादीहरू तथा वास्तविक शहीदहरूलाई दिएको उल्लेख गरेका छन्।
उनको राजीनामासँगै मधेश प्रदेशको राजनीतिक समीकरणमा थप तरंग आएको छ।














