जनकपुरधामको जानकी मन्दिरमा विशेष आरतीमा बालेन सहभागी

जनकपुरधाम , ५ माघ –

काठमाडौँ महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सक्रिय राजनीतिमा होमिएका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सोमबार बिहान सबेरै जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिर पुगेका छन्।

उनले बिहान ६ बज्नुअघि नै मन्दिर प्राङ्गणमा पुगेर विशेष आरती तथा पूजा–अर्चनामा सहभागिता जनाएका हुन्।

बालेनसँगै पूर्व सांसद अमरेशकुमार सिंह पनि मन्दिर पुगेका थिए। एउटै रङ र शैलीको पोसाकमा सजिएका दुवै नेताले जानकी माताको दर्शन गरेका थिए। बिहानको चिसो मौसमका बाबजुद बालेनलाई देख्न र भेट्न मन्दिर परिसरमा समर्थकहरूको उल्लेख्य भीड लागेको थियो। मन्दिरका महन्त तथा स्थानीय बासिन्दाले उनीहरूलाई स्वागत गरेका थिए।

आइतबार साँझ मात्र काठमाडौँबाट जनकपुरधाम आइपुगेका बालेनले आजै बिहान सिराहाको लहानस्थित मधेसी शहीद पार्कमा पुगेर माल्यार्पण गर्ने कार्यक्रम छ। त्यसपछि उनी धनुषाको तिरहुतिया गाछीमा आयोजना हुने रास्वपाको ‘परिवर्तन उद्घोष सभा’मा सहभागी हुनेछन्। उक्त सभालाई पार्टी सभापति रवि लामिछानेसँगै बालेनले मुख्य रूपमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

रास्वपाले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै मधेस प्रदेशबाट चुनावी अभियानको औपचारिक सुरुवात जनकपुरधामबाट गर्न लागेको हो। पार्टीका शीर्ष नेताहरू आइतबार नै जनकपुर आइपुगेका छन्। बालेनको राजीनामा, मधेस आन्दोलनको बलिदानी दिवस र मधेस केन्द्रित एजेन्डालाई जोडेर आयोजना गरिएको उक्त सभालाई रास्वपाले मधेसमा आफ्नो राजनीतिक आधार विस्तार गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ।

मधेसको राजनीतिक वातावरण तातिएको अवस्थामा हुन लागेको सभालाई रास्वपाले ‘परिवर्तनको उद्घोष’ का रूपमा प्रचार गरेको छ।

सम्बन्धित पोस्टहरुः