सर्लाही–४ मा गगन थापा र डा. अमरेशकुमार सिंह आमनेसामने हुने सम्भावना

सर्लाही , ५ माघ –

सर्लाही: आगामी संघीय निर्वाचनलाई लिएर सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ को चुनावी माहोल विशेष चर्चामा आएको छ। चर्चाको केन्द्रमा यस क्षेत्रबाट सम्भावित उम्मेदवार र हुने प्रतिस्पर्धा छन्।

विशेषगरी नेपाली कांग्रेसका महामन्त्री गगन थापा र स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहबीच प्रत्यक्ष टक्कर हुन सक्ने अड्कलबाजीले राजनीतिक वृत्त तातेको छ।

सर्लाही–४ लाई डा. अमरेशकुमार सिंहको बलियो आधार क्षेत्रका रूपमा लिइन्छ। उनी यसअघि तीन पटक कांग्रेसबाट सांसद निर्वाचित भएका थिए। पछिल्लो निर्वाचनमा भने पार्टी नेतृत्व तथा स्थानीय संगठनको पूर्ण समर्थन विपक्षमा रहँदासमेत स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव जित्न सफल भएका थिए।

यसले उनको व्यक्तिगत प्रभाव र स्थानीय जनसमर्थनलाई स्पष्ट रूपमा देखाएको विश्लेषकहरू बताउँछन्।

डा. सिंहलाई स्थानीयस्तरमा विकासमुखी र जनउत्तरदायी नेताका रूपमा चिनिन्छ। सडक पूर्वाधार, शिक्षा र स्थानीय स्वास्थ्य सेवाको क्षेत्रमा गरेका पहल र योगदानका कारण उनी लोकप्रिय रहेको स्थानीयको भनाइ छ। स्वतन्त्र सांसद भएपछि पनि उनले भ्रष्टाचार र प्रशासनिक बेथितिविरुद्ध संसद् र सडक दुवै तहमा निरन्तर आवाज उठाउँदै आएको भन्दै समर्थकहरूले उनको प्रशंसा गर्ने गरेका छन्।

उता, कांग्रेस महामन्त्री गगन थापा राष्ट्रिय राजनीतिमा प्रभावशाली र चर्चित नेताका रूपमा परिचित छन्। यदि कांग्रेसले उनलाई सर्लाही–४ बाट उम्मेदवार बनाउने निर्णय गर्‍यो भने चुनावी प्रतिस्पर्धा निकै रोचक र कडा हुने अनुमान गरिएको छ। यद्यपि पार्टीभित्रको रणनीति र अन्तिम उम्मेदवार टुंगो लाग्न बाँकी नै छ।

सर्लाही–४ मा स्थानीय प्रभाव र राष्ट्रिय राजनीतिक हैसियतबीचको सम्भावित प्रतिस्पर्धाले यस क्षेत्रको चुनावलाई देशव्यापी चासोको विषय बनाएको छ। उम्मेदवारीको औपचारिक घोषणा नभए पनि अहिले नै राजनीतिक गतिविधि र चर्चा तीव्र बन्दै गएको देखिन्छ।

सम्बन्धित पोस्टहरुः