एमालेले पर्साका चारै क्षेत्रमा उम्मेदवार टुंग्यायो, सिफारिसविपरीत टिकट दिइएको भन्दै असन्तुष्टि

1200x150_1200x150-01.jpg (1)

पर्सा , ५ माघ –

नेकपा एमालेले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ। पार्टीमा नवप्रवेशी पूर्वमन्त्री प्रदीप यादवलाई पर्सा–१ बाट उम्मेदवार बनाइएको छ।

एमालेका केन्द्रीय सदस्य विजय सरावगीका अनुसार सोमबार सबै निर्वाचन क्षेत्रका उम्मेदवारबारे अन्तिम निर्णय गरिएको हो। पर्सा–१ बाट उम्मेदवार बनेका यादव सोमबार राति जसपा नेपाल परित्याग गर्दै एमाले प्रवेश गरेका थिए। उनी यसअघि यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका छन्।

पर्सा–२ बाट रिमा यादवलाई उम्मेदवार बनाइएको छ। एमाले नेताहरूका अनुसार उनी कुनै सिफारिसबिनै उम्मेदवार बनेकी हुन्। यस्तै, पर्सा–३ बाट रुपेश पाण्डे उम्मेदवार घोषित भएका छन्। पाण्डे काठमाडौंमा व्यवसाय गर्दै आएका थिए र उनको नाम पनि प्रदेश कमिटीबाट सिफारिस नभएको जनाइएको छ। पर्सा–४ बाट भने जिल्ला र क्षेत्रको सिफारिसअनुसार जालिम मियाँलाई उम्मेदवार बनाइएको सरावगीले जानकारी दिए।

यसैबीच, एमालेले पर्सामा संगठनको सिफारिसविपरीत उम्मेदवारलाई टिकट दिएको भन्दै पार्टीभित्र चर्को आलोचना भइरहेको छ। क्षेत्र, जिल्ला र प्रदेश कमिटीको सिफारिसलाई बेवास्ता गरिएको भन्दै कार्यकर्तामा असन्तुष्टि बढेको नेताहरू बताउँछन्।

एमालेका पूर्व केन्द्रीय सदस्य अरबिन्द सिंहले टिकट वितरण प्रक्रियामाथि प्रश्न उठाउँदै क्षेत्र र जिल्लामा गरिएको प्रतिस्पर्धा ‘नाटक मात्र’ भएको टिप्पणी गरे। उनका अनुसार अधिकांश उम्मेदवार संगठनको सिफारिसविपरीत छन्।

सम्बन्धित पोस्टहरुः