जनकपुरधाम, ५ माघः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले देश विकासका लागि आफ्नो पार्टीलाई विजयी गराउन आग्रह गर्नुभएको छ । रास्वपाद्वारा आज यहाँ आयोजित परिर्वतन उद्घोषसभामा उहाँले आफ्नो पार्टीलाई बहुमतले विजयी गराई मधेस र देशको सेवा गर्ने अवसर दिन अपिल गर्नुभएको हो ।
वरिष्ठ नेता साहले आफूहरूलाई प्रतिनिधिसभामा विजयी गराएमा देशले ठूलो उपलब्धि हासिल गर्ने दाबी गर्नुभयो । उहाँले आफ्नो पार्टीको सरकार बनेमा नागरिकले आफ्नो अधिकार आफ्नै प्रदेशमा पाउन थप बलियो आधार बन्ने धारणा राख्नुभयो ।
“म काम गर्ने मानिस हँु, मलाई काम गर्ने मौका दिनुस् । काठमाडाँै महानगर प्रमुख हुँदा गरेका राम्रा कामबारे यहाँहरूले थाहा पाउनुभएको नै छ । प्रतिनिधिसभामा हाम्रो पार्टीलाई निर्वाचन गरेमा मधेसमा पनि काम गर्ने छु यो मेरो प्रतिज्ञा हो”, नेता साहले भन्नुभयो ।
उहाँले मधेस प्रदेश राजधानी जनकपुर ऐतिहासिक तथा धार्मिकस्थल भए पनि यहाँको विकास नदेखेर आफू अत्यन्त चिन्तित तथा दुःखी भएको बताउनुभयो । “यो ऐतिहासिक भूमि हो, तर सरसफाइको अभावमा जनकपुर प्रदूषित हँुदै गएको छ । पर्याप्त विकास नहुँदा पर्यटकलाई कठिन भइरहेको छ”, साहले भन्नुभयो,“म र मेरो पार्टीले जितेमा यहाँको विकासका साथै प्रदेशका जनताले आफ्नो अधिकारका लागि काठमाडौँ जाने बाध्यात्मक परिस्थितिलाई हटाउन लाग्ने छु । हाम्रो सरकार बनेमा प्रदेशलाई अझै बलियो, सशक्त तथा प्रभावकारी बनाउन लाग्ने छौँ ।”
वरिष्ठ नेता साहले आफू मधेसकै बासिन्दा भएकाले यहाँको विकासका लागि सम्पूर्ण ध्यान लगाउने प्रतिबद्धता जनाउनुभयो । रासस













