रास्वपाले पर्साका तीन क्षेत्रमा उम्मेदवार टुंग्यायो, क्षेत्र नम्बर २ अझै अनिश्चित

वीरगंज , ६ माघ –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पर्सा जिल्लाका चार निर्वाचन क्षेत्रमध्ये तीन वटामा उम्मेदवारको टुंगो लगाएको छ। पार्टीका केन्द्रीय सदस्य नन्दन यादवका अनुसार क्षेत्र नम्बर १, ३ र ४ मा उम्मेदवार निश्चित गरिएको हो।

पर्सा–१ बाट होटल व्यवसायी तथा रास्वपा पर्साका जिल्ला सभापति हरि पन्त उम्मेदवार बनेका छन्। यसअघि एमालेबाट रास्वपा प्रवेश गरेका शम्भु गुप्ताको नाम चर्चामा रहे पनि अन्ततः पार्टीले पन्तलाई नै टिकट दिएको हो। पर्सा–३ बाट रामाकान्त चौरसिया र पर्सा–४ बाट टेकबहादुर शाक्य उम्मेदवार चयन भएका छन्।

पर्सा–२ मा भने उम्मेदवार चयन प्रक्रिया अझै टुंगिन सकेको छैन। वीरगञ्ज महानगरपालिका–१० का वडाध्यक्ष सुशील साह कानुसहित प्रमेश्वर कलवार र परबेज अख्तरले टिकटमा दाबी गरेकाले निर्णय पेचिलो बनेको यादवले बताए। उनका अनुसार क्षेत्र नम्बर २ का विषयमा पुनः छलफल गरी छिट्टै टुंगो लगाइनेछ।

नयाँ शक्ति र वैकल्पिक राजनीतिको नारासहित चुनावी प्रतिस्पर्धामा उत्रिएको रास्वपाले पर्सामा उम्मेदवार चयन गर्दा स्थानीय प्रभाव र व्यावसायिक पृष्ठभूमिलाई प्राथमिकता दिएको देखिन्छ।

सम्बन्धित पोस्टहरुः