पर्सा–२ बाट कांग्रेस नेता तेलीको स्वतन्त्र उम्मेदवार दर्ता

वीरगंज , ६ माघ –

पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका नेता राजेश्वर साह तेलीले स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी दर्ता गराएका छन्। उनले जिल्ला समन्वय समिति पर्साको परिसरमा स्थापना गरिएको निर्वाचन आयोगको कार्यालयमा पुगेर आवश्यक कागजातसहित मनोनयन दर्ता गराएका हुन्।

कांग्रेसका सक्रिय नेता मानिने तेलीले पार्टीको आधिकारिक टिकट नपाएपछि स्वतन्त्र रूपमा उम्मेदवारी दिएको बुझिएको छ। उनी पार्टी निर्णयप्रति असन्तुष्ट रहेको हुनसक्ने आँकलन स्थानीय राजनीतिक वृत्तमा गरिएको छ।

उम्मेदवारी दर्तापछि तेलीले जनताको भावना र अपेक्षालाई केन्द्रमा राखेर चुनावी मैदानमा उत्रिएको प्रतिक्रिया दिएका छन्।

पर्सा–२ मा स्वतन्त्र उम्मेदवारी परेपछि कांग्रेसभित्रको आन्तरिक समीकरण र चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ।

सम्बन्धित पोस्टहरुः