भारतमा खेल्न नआउने बङ्गलादेशको अडानमा पीसीबीको समर्थन

वीरगंज , ७ माघ –

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले भारतमा खेल्न अस्वीकार गर्दै आएको बङ्गलादेश क्रिकेट बोर्ड (बीसीबी) को अडानलाई समर्थन गर्दै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) लाई पत्र लेखेको छ। पीसीबीले आईसीसी बोर्डका सबै सदस्यलाई पनि पत्र पठाएको क्रिकइन्फोले जनाएको छ।

भारतसँगको बिग्रँदो राजनीतिक सम्बन्ध र सुरक्षा चिन्ताका कारण बङ्गलादेशले आईसीसी टी–२० विश्वकपका खेल भारतमा नखेल्ने अडान लिएको छ। आज बस्ने आईसीसी बोर्ड बैठकमा बङ्गलादेशका खेल भारतबाट सह–आयोजक श्रीलङ्कामा सार्ने बीसीबीको मागमाथि छलफल हुने जनाइएको छ।

यद्यपि, आईसीसीले तालिका परिवर्तन नगर्ने र बङ्गलादेशका खेल भारतमै हुने अडान कायम राखेको छ। विश्वकप सुरु हुन तीन हप्ताभन्दा कम समय बाँकी रहँदा बङ्गलादेशको सहभागिताबारे आज अन्तिम निर्णय हुन सक्ने बताइएको छ।

टी–२० विश्वकप आगामी फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुँदैछ। तालिकाअनुसार बङ्गलादेशका अधिकांश खेल भारतमा तय गरिएका छन्।

सम्बन्धित पोस्टहरुः