प्रतिनिधिसभाको चुनावी मैदानमा उद्योगी–व्यवसायीको बलियो उपस्थि

वीरगंज , ७ माघ –

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मङ्गलबार सम्पन्न मनोनयन दर्तासँगै चुनावी प्रतिस्पर्धामा उद्योगी तथा व्यवसायीहरूको उल्लेख्य उपस्थिति देखिएको छ। निर्माण व्यवसायीदेखि खर्बपति सम्मका चर्चित अनुहारहरू प्रमुख राजनीतिक दलको टिकट लिएर संसद् यात्रामा होमिएका छन्।

नेपाली कांग्रेसबाट एक दर्जनभन्दा बढी उद्योगी–व्यवसायी उम्मेदवार बनेका छन्। फोर्ब्स सूचीमा सूचीकृत नेपालका एकमात्र खर्बपति विनोद चौधरी नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)–१ बाट उम्मेदवार छन्। मेडिकल कलेज सञ्चालक सुनिल शर्मा मोरङ–३, होटल व्यवसायी रमेश धमला धादिङ–२, स्टिल उद्योगी अनिलकुमार रुँगटा पर्सा–४ तथा यातायात व्यवसायी महासंघका अध्यक्ष विजय स्वाँर कैलाली–२ बाट चुनावी मैदानमा छन्।

नेकपा एमालेले पनि उद्योगी–व्यवसायीलाई प्राथमिकतामा राखेको छ। कपिलवस्तु–३ बाट उद्योगपति वीरेन्द्रप्रसाद कनौडिया, गोरखा–२ बाट घरजग्गा व्यवसायी मिलन गुरुङ (चक्रे मिलन), नवलपुर–१ बाट पर्यटन व्यवसायी भगीरथ सापकोटा र मोरङ–२ बाट व्यवसायी दिलीपकुमार अग्रवाल उम्मेदवार बनेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पर्यटन, रेमिट्यान्स, सेयर र प्रविधि क्षेत्रका व्यवसायीहरू पनि चुनावी प्रतिस्पर्धामा छन्। काठमाडौं–९ बाट डीपी अर्याल, चितवन–१ बाट हरि ढकाल र बारा–३ बाट खल्तीका सह–संस्थापक अरविन्द साह उम्मेदवार बनेका छन्।

यसपटकको निर्वाचनमा उद्योग, व्यापार र लगानीसँग जोडिएका मुद्दा प्रमुख बहसको केन्द्रमा आउने देखिएको छ।

सम्बन्धित पोस्टहरुः