काठमाडौं–४ छाडेर सर्लाही झरे गगन थापा, अमरेशसँग कडा टक्करको आकलन

वीरगंज , ७ माघ –

नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटकको प्रतिनिधिसभा निर्वाचनमा सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ रोजेका छन्। तीनपटक जित हासिल गरेको काठमाडौं–४ छाड्दै थापा मधेश झरेका हुन्। काठमाडौं–४ मा उनले सचिन तिमल्सेनालाई कांग्रेसको टिकट दिएका छन्।

सर्लाही–४ मा गगनको उम्मेदवारी वारेसमार्फत दर्ता गरिएको छ। मधेश प्रदेशसभा सदस्य वीरेन्द्रकुमार सिंहलाई वारेस दिएर मनोनयन दर्ता गराइएको हो। थापा भोलि मात्रै निर्वाचन क्षेत्रमा पुग्ने तयारीमा छन्।

यस क्षेत्रमा गगनको मुख्य प्रतिस्पर्धी २०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका अमरेशकुमार सिंह रहने देखिएको छ। कांग्रेसबाट टिकट नपाएपछि बागी उठेर जितेका सिंह यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनावी मैदानमा छन्।

सर्लाही–४ मा कांग्रेस सभापति थापासँगै एमालेबाट रविशंकर कुशवाहा, जसपा नेपालबाट रामेश्वरराय यादव र नेपाली कम्युनिस्ट पार्टीबाट डा. रजनीश यादव उम्मेदवार छन्। अघिल्लो निर्वाचनको मतपरिणाम र समानुपातिक मतको आधारमा हेर्दा कांग्रेसको संगठनात्मक बल यहाँ अझै बलियो देखिन्छ।

यद्यपि रास्वपाले अमरेशलाई अघि सार्दै मधेश केन्द्रित राजनीति र नयाँ शक्ति अभियानलाई तीव्र बनाएको छ। यसले सर्लाही–४ लाई चासोका साथ हेरिएको निर्वाचन क्षेत्र बनाएको छ।

सम्बन्धित पोस्टहरुः