वीरगंज , ८ माघ –
नेकपा एमालेका सचिव महेश बस्नेतले ‘म मधेशको छौरो’ भन्ने अभिव्यक्तिको सन्दर्भमा आफ्नो भनाइलाई तोडमोड गरी गलत नियतले प्रचार गरिएको बताएका छन्। सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको स्टाटसमा उनले आफूले मैथिली भाषामा ‘छौरो’ शब्दको अर्थ के लाग्छ भनेर मात्र जिज्ञासा राखेको दाबी गरेका छन्।
बस्नेतले आफू मधेश, मैथिली भाषा, संस्कृति र पहिचानलाई सधैं सम्मान गर्ने व्यक्ति भएको उल्लेख गर्दै नबोलेका विषयलाई गलत रूपमा व्याख्या नगरिदिन आग्रह गरेका छन्। “मैले सोधेको विषयलाई केही व्यक्तिहरूले गलत नियतले प्रचार गरेको देखिन्छ,” उनले लेखेका छन्।
उनले कसैले गलत अर्थ लगाएर फैलाएको प्रचारप्रति भ्रममा नपर्न सबैलाई आग्रह गर्दै यस क्रममा अनजानमा कसैको भावनामा चोट पुगेको भए क्षमायाचना समेत गरेका छन्।
बस्नेतको उक्त स्पष्टिकरण पछिल्ला दिनहरूमा ‘छौरो’ शब्दको अर्थ र प्रयोगलाई लिएर मधेश केन्द्रित राजनीतिक तथा सामाजिक बहस चर्किरहेका बेला आएको हो।













