वीरगंज । अहिले म्यादी प्रहरी बन्नेहरुको लहर चलेको छ । अधिकांश जिल्लामा आसन्न प्रतिनिधि सभा निर्वाचनको लागि म्यादी प्रहरी छनौट कार्य भइरहेको छ । देशभरमा १ लाख ३३ हजार म्यादी प्रहरी छनौट गर्ने सरकारले लक्ष्य राखेको छ । सोही अनुरुप जिल्लाहरुमा आवेदन लिई छनौट प्रकृया अगाडि बढाइएको छ ।
बिहीवार दिन भर वीरगंजको नारायणी रंगशाला वरिपरि हजारौं युवाहरुको भीड लागेको थियो । सबै जना लिखित परीक्षामा सहभागी हुन आएका थिए । एक जना सहभागी आवेदनकर्ताले भने,‘म्यादी प्रहरी बन्न आएको छु,रहरले होइन ,बाध्यताले फारम भरेको हु ।’ अधिकांश युवाहरु वेरोजगारीको समस्या झेलिरहेको कारण म्यादी प्रहरी बन्न हौसिएको देखिएका थिए ।
पर्सामा नेपाल प्रहरीको ५३९९ र सशस्त्र प्रहरीको ५७८ गरी झण्डै ६१ सय जनाले आवेदन गरेकोमा शारीरिक परिक्षण र लिखित परीक्षा एकिकृत गरी प्रकृया अगाडी बढाइएको पर्सा प्रहरीका प्रवक्ता प्रनाउ हरिबहादुर वस्नेतले जानकारी गराए । उनका अनुसार बिहीवारको शारीरिक परीक्षणमा ६ हजार ३२ हजार सहभागी भएकोमो ४७६५ जना उतिर्ण भई लिखित परिक्षामा सामेल भएका थिए । लिखित परिक्षामा उतिर्ण हुनेहरुले माघ ११ गते मौखिक परीक्षामा सहभागी हुने कार्यतालिका रहेको छ ।
पर्सामा २८४५ जना म्यादी प्रहरी छनौट गर्ने निर्देशन रहेको छ । जस मध्ये २४६७ जना नेपाल प्रहरीमा र बाँकी सशस्त्र प्रहरीको अन्तर्गत म्यादी प्रहरी नियुक्त हुनेछन् । उनीहरुले पोसाक र रासन कटाएर एक जनाले करिब ३४ हजार तलस सुविधा पाउने प्रहरी अधिकृतले जनाएको छ । आवेदन दिनेहरुमा ८९९ महिलाहरु रहेको जनाइएको छ ।















