वीरगंज । नेपाल–भारत सम्बन्ध सुदृढ गर्न मिडियाको भूमिका विषयमा पर्सामा विचार गोष्ठी सम्पन्न भएको छ। पर्सा जिल्लाको वीरगंजस्थित टाउनहल पार्टी प्यालेसमा अङ्कुश मिडिया प्रा. लि.को आयोजनामा बुधवार गोष्ठी सम्पन्न भएको हो।
अङ्कुश दैनिकका अध्यक्ष दिपेन्द्र चौहानको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेल प्रमुख अतिथि रहेका थिए।
गोष्ठीमा नेपाल–भारत पत्रकारिताबीचको सम्बन्ध, सीमावर्ती क्षेत्रमा समाचार सङ्कलनका चुनौती, पत्रकारहरूको सुरक्षा, प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिताको भूमिकावारे गहन छलफल भएको आयोजकले जानकारी दिएको छ। सहभागी वक्ताहरूले दुर्ई देशबीचको ऐतिहासिक, सामाजिक र सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउन मिडियाले सकारात्मक, तथ्यपरक र उत्तरदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर विरही, नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, भारतीय पत्रकार मण्डलका नेता तथा आईएफजे उत्तराखण्डका अध्यक्ष बाला भाष्कर, आमसञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्का, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बंजारा, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल लगायत करिब ५० जना पत्रकार सहभागी थिए।
आयोजकले जनाएको छ, गोष्ठीले सीमावर्ती क्षेत्रको पत्रकारिता थप जिम्मेवार, सुरक्षित र प्रभावकारी बनाउन आपसी सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेको छ।















