काठमाडौं । धादिङ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता लिएको भन्ने समाचारहरूको खण्डन गरेकी छन् ।
शुक्रबार दिउँसो उम्मेदवारी फिर्ताको प्रक्रियाका लागि निर्वाचन कार्यालय जाँदै गरेको चर्चा चले पनि तामाङले सामाजिक सञ्जालमार्फत आफू चुनावी मैदानबाट पछि नहटेको स्पष्ट पारेकी हुन् । उनले हल्लाको पछि नलाग्न आग्रह गर्दै आफू चुनाव जित्नकै लागि उठेको र जनताको प्रतिनिधि बनेर आउने दृढता व्यक्त गरेकी छन् ।
यसअघि उनले उम्मेदवारी फिर्ता लिन इमेल गरेको र धादिङ जाँदै गरेको खबर सार्वजनिक भएपछि समर्थकहरूमाझ अन्योल सिर्जना भएको थियो । तर, तामाङको पछिल्लो स्पष्टीकरणले सो अन्योल चिर्दै धादिङ२ को चुनावी प्रतिस्पर्धालाई झन् रोचक बनाएको छ । उनले आफू कुनै पनि दबाब वा हल्लाको प्रभावमा नपरी चुनावी अभियानलाई अन्तिमसम्म निरन्तरता दिने र संसद् यात्रा तय गर्ने दाबी गरेकी छन् ।














