वीरगंज, १० माघ । वर्षौदेखि फोहरको थुप्रोको कारण घण्टाघरस्थित रेल्वे जग्गामा आज बृहत सरसफाइ कार्यक्रम गरिएको छ ।
ग्रीनसिटी सामुदायिक प्रहरी, सशस्त्र प्रहरी बल, वीरगंज महानगरपालिकाको नगर प्रहरी, राष्ट्रिय सेवा दल तथा नेपाल प्रहरीको संयुक्त आयोजनामा सरसफाई कार्यक्रम गरिएको हो।
सो रेल्वे जग्गामा जनकपुरबाट ऐतिहासिक महत्व बोकेको पुरानो रेल ल्याई रेल्वे संग्रहालय स्थापना गर्ने तयारी गरिएको वीरगंज महानगरपालिकाका नगर प्रमुख मेयर राजेशमान सिंहले बताए ।
ऐतिहासिक रेल सम्पदाको संरक्षण तथा पर्यटकीय विकासलाई लक्षित गर्दै यो अभियान अघि बढाइएको उनले बताए । उनका अनुसार रेल्वे संग्रहालय स्थापना भएपछि वीरगंजको ऐतिहासिक पहिचान अझ सुदृढ हुने, पर्यटन प्रवद्र्धन हुने र नयाँ पुस्ताले नेपालको रेल्वे इतिहासवारे जानकारी पाउने अवसर प्राप्त गर्नेछ।
महानगरपालिकाका हरियाली संयोजक एवं ग्रीनसिटि सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष प्रकाश खेतानको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथि जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भोला दहाल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सुदिपराज पाठक, सशस्त्र प्रहरी बलका डीएसपी पुरूषोत्तम भण्डारी, जिल्ला प्रहरी कार्यालयका डीएसपी राजु कार्की र हरि बस्नेत, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक विक्रम सुबेदी, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख युवराज कटुवाल, सरसफाई अभियन्ता शिव गुप्ता तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागीता रहेको थियो।
वीरगंज महानगरपालिकाका प्रशासकीय अधिकृत अरबिन्दलाल कर्णले जनकपुरबाट ऐतिहासिक महत्व बोकेको रेल शीघ्र रूपमा वीरगंज ल्याई रेलवे संग्रहालय निर्माण गरिने जानकारी दिए । उनले यो योजना महानगरपालिकाको दीर्घकालीन सांस्कृतिक तथा पर्यटकीय विकास योजनासँग मेल खाने बताए ।














