वीरगंज , १० माघ –
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध मनोनयन दर्ता गराएका तथा त्यस्ता उम्मेदवारलाई समर्थन गरेका सात जना नेता तथा कार्यकर्तालाई कारबाही गरेको छ।
पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालद्वारा आज जारी विज्ञप्तिमा पार्टीको निर्णय र निर्देशन विपरीत उम्मेदवार बनेका, साथै त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक तथा प्रचारकको भूमिकामा रहेका नेता–कार्यकर्तालाई पार्टीबाट निष्कासन गरिएको उल्लेख छ।
निष्कासनमा पर्नेमा सिन्धुलीका नेता हरिबोल गजुरेल र महेश्वर दाहाल, दाङका कुलप्रसाद केसी, उदयपुरका मेजर राई तथा सिरहाका धर्मनाथ साह, राजकुमारी साह र जिवछ साह रहेका छन्।
पार्टीले अनुशासन उल्लङ्घन गर्नेहरूमाथि कडा कारबाही गर्दै आगामी दिनमा पनि संगठनात्मक निर्णय विपरीत गतिविधि सह्य नहुने स्पष्ट पारेको छ।














