वीरगंज १० माघ –
आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले पहिलो जित हात पारेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार सम्पन्न खेलमा नेपालले जिम्बावेलाई ६ विकेटले पराजित गरेको हो।
जिम्बावेले दिएको १ सय ३० रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ४ विकेटको क्षतिमा पूरा गर्यो। नेपालको जितमा पूजा महतोले अर्धशतकीय इनिङ खेल्दै ५२ रन बनाइन्। जिम्बावेको तर्फबाट जोसेफिन एनकोमोले २ विकेट लिइन्।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २९ रन बनाएको थियो। जिम्बावेको इनिङमा केलिस एनध्लोभुले अविजित ५२ रनको योगदान दिइन्। नेपालका लागि रिया शर्माले २ विकेट हात पारिन्।
यस जितसँगै नेपालले प्रतियोगिताको ‘सुपर–सिक्स’ चरणमा पुग्ने सम्भावनालाई कायम राखेको छ। यसअघि नेपाल पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेटले र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो।
अब नेपालले समूह चरणको अन्तिम खेलमा पर्सि सोमबार स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।
१० टोली सहभागी प्रतियोगिता माघ १८ गतेसम्म सञ्चालन हुनेछ। दुवै समूहबाट शीर्ष तीन टोली ‘सुपर–सिक्स’ मा प्रवेश गर्नेछन् भने त्यहाँबाट शीर्ष चार टोली आउँदो वर्ष इङ्ग्ल्यान्ड र वेल्समा हुने महिला टी–२० विश्वकपका लागि छनोट हुनेछन्।














