आज राष्ट्रिय सभा सदस्यका लागी मतदान हुँदै

वीरगंज , ११ माघ –

राष्ट्रिय सभा सदस्यका लागि आज देशभर मतदान हुँदैछ। निर्वाचन आयोगका अनुसार बिहान ९ बजेदेखि सुरु हुने मतदान दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ। राष्ट्रिय सभाका १९ सदस्यको कार्यकाल आउँदो फागुन २० गते सकिन लागेकाले एक मनोनित सदस्यबाहेक १८ पदमा निर्वाचन प्रक्रिया अघि बढाइएको हो।

१८ पदमध्ये कोशी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेकाले आज १७ पदका लागि मात्र मतदान हुन लागेको हो। सातै प्रदेशमा मतदान केन्द्र तोकिएको छ र सबै आवश्यक तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ।

प्रदेशगत रूपमा कोशी प्रदेशमा विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय परिसर, मधेश प्रदेशमा जनकपुरधाम–४ स्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र, बागमती प्रदेशमा हेटौँडा–४ को भुटनदेवी माध्यमिक विद्यालयमा मतदान केन्द्र राखिएको छ। यस्तै, गण्डकी प्रदेशमा पोखरा कास्की, लुम्बिनी प्रदेशमा घोराही दाङ, कर्णाली प्रदेशमा वीरेन्द्रनगर सुर्खेत र सुदूरपश्चिम प्रदेशमा धनगढी कैलालीस्थित प्रदेश निर्वाचन कार्यालय परिसरमा मतदान हुनेछ।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य तथा स्थानीय तहका मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष मतदाता हुन्छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न केही जनप्रतिनिधिले राजीनामा दिएकाले उनीहरूको नाम मतदाता नामावलीबाट हटाइएको निर्वाचन आयोगले जानकारी दिएको छ।

आयोगका अनुसार १८ पदका लागि ४४ जनाले उम्मेदवारी दिएका छन्। गठबन्धनको भागबन्डाअनुसार नेपाली कांग्रेसले ९ र नेकपा एमालेले ८ सिटमा उम्मेदवारी दिएका छन् भने बाँकी एक पदमा कांग्रेस–एमालेले लोसपाका महन्थ ठाकुरलाई समर्थन गरेका छन्। भागबन्डा नमिलेपछि नेकपाले एकल उम्मेदवारी दिएको छ।

प्रदेशगत रूपमा कोशीबाट ३, मधेशबाट ४, बागमती र गण्डकीबाट २–२, लुम्बिनीबाट ३ तथा कर्णाली र सुदूरपश्चिमबाट २–२ जना राष्ट्रिय सभा सदस्य निर्वाचित

सम्बन्धित पोस्टहरुः