बारामा ट्रक–स्कुटी ठोक्किँदा युवकको मृत्यु, एक घाइते

वीरगंज , ११ माघ –
बारा जिल्लाको प्रसौनी गाउँपालिका–२ स्थित दुधौरा पुल नजिक सवारी दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ भने एक जना घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय प्रसौनीका अनुसार शुक्रबार बिहान करिब ७ बजे वीरगञ्जबाट कलैयातर्फ जाँदै गरेको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको मा.प्र.०३–०२७ प ७८२९ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो।

दुर्घटनामा स्कुटी चालक कलैया उपमहानगरपालिका–३ निवासी जय गुप्ताका करिब २० वर्षीय छोरा आयुष गुप्ता गम्भीर घाइते भएका थिए। उनको टाउकोमा गहिरो चोट लागेको थियो। त्यस्तै, स्कुटीमा पछाडि सवार वीरगञ्ज महानगरपालिका–१० घरीहर्वा निवासी बिनोद साह कानुका करिब ३० वर्षीय छोरा मौसम कुमार साहको दाहिने हात र ढाडमा चोट लागेको प्रहरीले जनाएको छ।

दुवै घाइतेलाई उपचारका लागि परवानिपुरस्थित एल.एस. न्युरो अस्पताल लगिएको थियो। उपचारकै क्रममा बिहान करिब ८ बजे आयुष गुप्ताको मृत्यु भएको अस्पताल प्रशासनलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। घाइते मौसम कुमार साहको उपचार जारी रहेको छ।

दुर्घटनापछि ट्रक फरार भए पनि प्रहरीले खोजतलासका क्रममा म.प्र.०३–००२ ख ४१०२ नम्बरको ट्रकलाई कलैयास्थित हनुमान चोकबाट नियन्त्रणमा लिएको छ। ट्रक चालक रौतहट जिल्ला चन्द्रपुर नगरपालिका–२ चौधरी टोल निवासी करिब २४ वर्षीय दिपेश चौधरीलाई समेत नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बारा, कलैयामा राखिएको प्रहरीले जानकारी दिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पोस्टहरुः