मुम्बई, ११ माघ (रासस/एएफपी) :
भारतको बलिउड उद्योग ठूलो स्केल, तीव्र टकराव र भव्य प्रस्तुतिमा आधारित सिनेमातर्फ निर्णायक रूपमा उन्मुख भइरहेको छ । देशभक्ति, तमाशा र स्पष्ट वैचारिक सन्देशलाई प्राथमिकता दिने यो प्रवृत्तिले सूक्ष्म कथा र जोखिमपूर्ण प्रयोगलाई पछाडि पार्दै लगेको उद्योगका जानकारहरू बताउँछन् ।
विश्लेषकहरू यस प्रवृत्तिलाई ‘इभेन्ट सिनेमा’ का रूपमा वर्णन गर्छन् । स्टुडियोहरूले विशेषगरी स्मार्टफोनमा बढी अभ्यस्त जेन–जेड दर्शकलाई पुनः हलसम्म ल्याउन ठूलो बजेट, भव्य दृश्य र चर्चित कलाकारमा दाउ लगाइरहेका छन् ।
यो रणनीतिले सकारात्मक सङ्केत देखाएको छ । प्रमुख फिल्म प्रदर्शक अक्षय राठीका अनुसार सन् २०२६ मा शुद्ध हिन्दी बक्स अफिस सङ्कलनमा ४५ देखि ५० प्रतिशतसम्म वृद्धि र युवा दर्शकको हल उपस्थितिमा करिब २५ प्रतिशत बढोत्तरी हुने अनुमान छ । “यो वर्ष ऐतिहासिक हुनसक्छ”, उहाँले भन्नुभयो ।
कोभिड–१९ महामारीका बेला स्ट्रिमिङ प्लेटफर्मको तीव्र विस्तारसँगै बलिउडको वित्तीय मोडेल हल्लिएको थियो । तर अब सन् २०२६ को चलचित्र सूचीमा देशभक्तिपूर्ण युद्ध नाटक, जासुसी थ्रिलर, पौराणिक कथा र राष्ट्रवादी आख्यानहरू हावी छन् । विश्लेषकहरूका अनुसार यसले व्यावसायिक पुनरुत्थान मात्र नभई, रचनात्मक प्राथमिकतामा आएको ठूलो परिवर्तन पनि देखाउँछ ।
आलोचकहरू भने बलिउडका धेरै चलचित्र प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको हिन्दू–राष्ट्रवादी विचारधारासँग मेल खाने विषयवस्तुतर्फ झुक्दै गएको बताउँछन् । चलचित्र व्यापार विश्लेषक अतुल मोहन भन्नुहुन्छ, “आजका चलचित्रका विषय केन्द्रमा को सत्तामा छ भन्ने कुरासँग जोडिएका छन् । हिन्दू लहर र प्रचार ठूला कारक बनेका छन्, तर सबै फिल्म सफल हुँदैनन् ।”
उहाँले सन् २०२२ को सफल फिल्म ‘द काश्मीर फाइल्स’ र सन् २०२५ को असफल ‘द बङ्गाल फाइल्स’ को उदाहरण दिँदै वैचारिक विषय मात्रै पर्याप्त नहुने तर्क गर्नुभयो ।
हाल मुख्यधाराको हिन्दी सिनेमामा भू–राजनीतिक द्वन्द्व, आन्तरिक शत्रु र वीर पुरुषत्व केन्द्रमा रहेका कथाहरू हावी छन् । गत वर्ष रिलिज भएको अति–राष्ट्रवादी एक्सन थ्रिलर ‘धुरन्धर’ भारत–पाकिस्तान सीमामा भएको वास्तविक झडपको पृष्ठभूमिमा सन् २०२५ का सबैभन्दा धेरै कमाउने फिल्ममध्ये एक बनेको थियो । यसको सिक्वेल ‘धुरन्धर २’ आगामी मार्चमा प्रदर्शनमा आउने तयारीमा छ ।
तर सबै सहमत छैनन् । वरिष्ठ फिल्म समीक्षक अर्नब बनर्जीका अनुसार अहिले फिल्मको शिल्पभन्दा प्रचार सन्देश हावी भएको छ । उहाँले अनावश्यक हिंसाको प्रयोग र सामाजिक सञ्जालको प्रचारले फिल्मको भाग्य निर्धारण गरिरहेको टिप्पणी गर्नुभयो । सन् १९७१ को युद्धमा आधारित फिल्म ‘इक्किस’ ले सकारात्मक समीक्षा पाए पनि व्यापारिक रूपमा कमजोर प्रदर्शन गर्नु त्यसको उदाहरण भएको उहाँको भनाइ छ ।
यसबीच निर्देशक अहमद खान भने गुणस्तर नै अन्ततः सफलताको आधार हुनेमा जोड दिनुहुन्छ । “विधा जे भए पनि, राम्रोसँग बनेको फिल्म चल्छ”, उहाँले भन्नुभयो । सन् २०२५ मा रोमान्टिक ड्रामा ‘सैयारा’ र एक्सन फिल्म ‘धुरन्धर’ दुवैले राम्रो व्यापार गरेको उदाहरण दिँदै उहाँले दर्शकको मनस्थिति समयसँगै बदलिन सक्ने बताउनुभयो ।
–––















