बेल्वामा रुंगटाको रात्रीकालीन भेटघाट, स्थानीय समस्या र समाधानबारे छलफल

वीरगंज ,११ माघ –

पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा उम्मेदवार नेपाली कांग्रेसका अनिल रुंगटाले वीरगंज महानगरपालिका–३१ बेल्वामा रात्रीकालीन भेटघाट तथा राजनीतिक छलफल कार्यक्रम सञ्चालन गरेका छन्।

कार्यक्रममार्फत उनले स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रका समस्या र आवश्यकताबारे जानकारी लिएका छन्।

वडा इकाइ सभापति अनिरुद्ध प्रसाद थारुको अध्यक्षतामा सम्पन्न छलफलमा स्थानीय बासिन्दाले सडक तथा भौतिक पूर्वाधार, प्रहरी चौकीको अभाव, सार्वजनिक जग्गा–जमिन संरक्षण र कृषि क्षेत्रका समस्याबारे गुनासो राखेका थिए।

कार्यक्रममा बोल्दै उम्मेदवार रुंगटाले स्थानीय जनताका कुरा ध्यानपूर्वक सुन्दै ती समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न आफू प्रतिबद्ध रहेको बताए। उनले जनताको दैनिक जीवनसँग जोडिएका विषयलाई प्राथमिकतामा राखेर व्यवहारिक र दिगो विकासका योजना अघि बढाइने स्पष्ट पारे।

छलफल कार्यक्रममा नेपाली कांग्रेस पर्साका पूर्व सभापति अजय द्विवेदी, कार्यवाहक सभापति रामनारायण कुर्मी, विजय सर्राफ, अरबिन्द गुप्ता, किरण सरकारलगायत स्थानीय नेता, समाजसेवी तथा युवा अगुवाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले स्थानीय विकास र जनअपेक्षालाई केन्द्रमा राखेर राजनीति अघि बढाउनुपर्ने धारणा व्यक्त गरेका थिए।

सम्बन्धित पोस्टहरुः