एसबी ट्रेडिङमा छापा, करिब ३० लाख बराबरको अवैध सामान बरामद

वीरगंज,१२ माघ –

वीरगंजको रेल्वे रोडमा सञ्चालित एसबी ट्रेडिङमा प्रहरीले छापा मारेर करिब २५ देखि ३० लाख रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ।

वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी टोलीले आइतबार साँझ उक्त पसलमा छापा मारेको हो। प्रहरी निरीक्षक बिक्रम सुबेदीको नेतृत्वमा गएको टोलीले भन्सार छली ल्याइएका विभिन्न सामान अवैध रूपमा भण्डारण तथा बिक्री वितरण भइरहेको आशंकामा पसलको जाँच गरेको जनाएको छ।

छापाका क्रममा चिनियाँ, भारतीय तथा विभिन्न घरेलु प्रयोजनका उपभोग्य सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रारम्भिक मूल्याङ्कन अनुसार बरामद सामानको बजार मूल्य करिब २५ लाखदेखि ३० लाख रुपैयाँसम्म रहेको अनुमान गरिएको छ।

हाल बरामद गरिएका सबै सामान वडा प्रहरी कार्यालय बिर्ताको नियन्त्रणमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक कागजात नपुगेमा कानुनी प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ। साथै, सम्बन्धित निकायसँग समन्वय गरी थप कारबाही गरिने पनि जनाइएको छ।

यस घटनाले वीरगञ्ज क्षेत्रमा अवैध कारोबार नियन्त्रणका लागि सुरक्षाकर्मीहरू सक्रिय रूपमा लागिरहेको सन्देश दिएको स्थानीयवासीहरूले प्रतिक्रिया दिएका छन्।

सम्बन्धित पोस्टहरुः