वीरगंज , १४ माघ –
जेनजी युवा राहुल गुप्ताको नेतृत्वमा नारायणी अस्पतालमा नवजात शिशु र सुत्केरी आमालाई आवश्यक कपडा वितरण गरिएको छ। स्वास्थ्य र सुविधामा सहयोग गर्ने उद्देश्यले आयोजित कार्यक्रममा १३५ जना नवजात शिशु र उनीहरूका आमालाई कपडा प्रदान गरिएको हो।
कार्यक्रममा सहभागी मधेश प्रदेशका उद्योग वाणिज्य संघका अध्यक्ष तथा पर्सा क्षेत्र नम्बर–२ का जसपा नेपालका उम्मेदवार अशोक कुमार टेमानीले सामाजिक पहलले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए । नवजात शिशु र आमाको स्वास्थ्य सुरक्षामा सानो सहयोगले पनि ठूलो प्रभाव पार्ने उनको भनाइ थियो।
कार्यक्रमका संयोजक राहुल गुप्ताले समुदायको आवश्यकता बुझेर कार्यक्रम आयोजना गरिएको जनाउँदै आगामी दिनमा स्वास्थ्य, शिक्षा र सामाजिक सेवाका क्षेत्रमा थप कार्यक्रम ल्याइने बताए।
कार्यक्रममा सहभागीहरूले यस पहलले नवजात शिशु र सुत्केरी आमालाई प्रत्यक्ष सहयोग पुर्याउनुका साथै सामाजिक सद्भाव र मानवताको सन्देश दिएको प्रतिक्रिया दिएका छन्।









