वीरगंज , १५ माघ –
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मधेस प्रदेशबाट जेन–जी पुस्ताका ५८ जना युवा उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। निर्वाचन आयोगका अनुसार तीमध्ये ५६ जना पुरुष र २ जना महिला रहेका छन्।
आयोगको तथ्याङ्कअनुसार ५८ मध्ये ४१ जना स्वतन्त्र उम्मेदवार छन् भने १७ जना विभिन्न राजनीतिक दलबाट उम्मेदवार बनेका हुन्। युवाको उल्लेखनीय सहभागिताले यसपटकको निर्वाचनलाई थप प्रतिस्पर्धात्मक र चासोको विषय बनाएको छ। दलगत रूपमा उज्यालो नेपाल पार्टी र जनमत पार्टीले तीन–तीन जना जेन–जी उम्मेदवार अघि सारेका छन्।
श्रम संस्कृति पार्टीले दुई जना युवा उम्मेदवार उठाएको छ। नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल कम्युनिस्ट पार्टी, आम जनता पार्टी, जन अधिकार पार्टी, जनता लोकतान्त्रिक पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी र नेपालका लागि नेपाली पार्टीले एक–एक जना जेन–जी उम्मेदवारलाई टिकट दिएका छन्।
आयोगका अनुसार जेन–जी पुस्ताका उम्मेदवारहरू सिराहा, महोत्तरी, रौतहट, सर्लाही, पर्सा, बारा र सप्तरीका विभिन्न निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धामा छन्। युवाहरूको सक्रिय उपस्थितिले मधेसको राजनीतिक परिदृश्यमा नयाँ बहस र अपेक्षा सिर्जना गरेको छ।









