वीरगंज , १५ माघ –
आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मधेस प्रदेशका आठै जिल्लामा कूल ४ हजार ४ सय ७१ मतदान केन्द्र निर्धारण गरिएको छ। निर्वाचन शान्तिपूर्ण र सुरक्षित रूपमा सम्पन्न गर्न मधेस प्रहरीले मतदान स्थलहरूको जोखिम मूल्याङ्कन गरी तिनलाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीन तहमा वर्गीकरण गरेको छ।
मधेस प्रहरीका अनुसार जेन–जी मुभमेन्टपछि उत्पन्न सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै १,२३७ मतदान स्थललाई अति संवेदनशील (रेड जोन) सूचीमा राखिएको छ। आठ जिल्लामध्ये जम्मा १६० मतदान स्थल मात्र सामान्य वर्गमा परेका छन् भने प्रदेशभर ७६३ मतदान स्थल संवेदनशील सूचीमा छन्।
सुरक्षाको दृष्टिले सप्तरी जिल्ला सबैभन्दा जोखिमयुक्त देखिएको छ। सप्तरीका २०९ मतदान स्थल रेड जोनमा परेका छन्। त्यसपछि धनुषामा १९४, महोत्तरीमा १६३, सर्लाहीमा १५८, सिराहामा १५४, रौतहटमा १५२ र बारामा १४५ मतदान स्थल अति संवेदनशील वर्गमा राखिएका छन्।
अति संवेदनशील मतदान स्थलमा तीन तहको सुरक्षा घेरा बनाइने मधेस प्रहरीले जनाएको छ। भित्री घेरामा नेपाल प्रहरी र निर्वाचन प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र बाहिरी घेरामा नेपाली सेना परिचालन गरिनेछ। प्रदेशभर करिब ४० हजार नेपाल प्रहरी तथा निर्वाचन प्रहरी र १० हजार सशस्त्र प्रहरी खटाइने तयारी गरिएको छ।









