वीरगंज , १६ माघ –
शहिद दिवसको अवसरमा नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ का उम्मेदवार अनिल रुङटाले देशका अमर शहिदहरूको योगदान सम्झिँदै श्रद्धाञ्जली अर्पण गरेका छन्।
रुङटाले वीरगंजस्थित नारायणी अस्पताल परिसरमा प्रजातान्त्रिक आन्दोलनका अग्रज शहिद थिरबम मल्लको शालिकमा फुलमाला अर्पण गर्दै लोकतन्त्र स्थापनामा उहाँले पुर्याएको योगदानको स्मरण गरे।
घण्टाघर क्षेत्रमा मधेस आन्दोलनका शहिदहरूको शालिकमा समेत फुलमाला अर्पण गर्दै उनले शहिदहरूको बलिदानले मुलुकलाई समावेशी दिशातर्फ अघि बढाउन मार्गदर्शन गरेको बताए।
साथै गण्डक चौकमा कांग्रेस कमाण्डर तेजबहादुर अमात्यको शालिकमा फुलमाला अर्पण गर्दै रुङटाले लोकतन्त्र स्थापना र सुदृढीकरणमा अमात्यको ऐतिहासिक भूमिका स्मरण गरे।
उनले शहिदहरूको बलिदानकै कारण आज देशमा लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकार स्थापित भएको र कांग्रेस आगामी दिनमा पनि न्याय, समानता र समृद्धिको यात्रामा जनताको पक्षमा उभिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा पर्सा क्षेत्रका पार्टी नेताहरू, पूर्व नगर तथा क्षेत्रीय सभापतिहरू, विद्यार्थी संघका पदाधिकारी तथा स्थानीय अगुवाहरूको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रममा सहजिकरण क्षेत्रीय सचिव हरि यादवले गरेका थिए।









