शहिदहरूको बलिदानीकै कारण नेपाल स्वतन्त्र र सार्वभौम छ : प्रदीप यादव

वीरगंज , १६ माघ –

पर्सा क्षेत्र नम्बर १ बाट नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले शहिदहरूको बलिदानीकै कारण नेपाल आजसम्म स्वतन्त्र र सार्वभौम मुलुकका रूपमा कायम रहन सफल भएको बताएका छन्।

शहिद दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत सन्देश सार्वजनिक गर्दै पूर्वमन्त्रीसमेत रहेका यादवले देश, लोकतन्त्र र जनअधिकारका लागि ज्यान आहुति दिने सम्पूर्ण शहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले लेखेका छन्, “देश, लोकतन्त्र र जनअधिकारका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सम्पूर्ण शहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।”

पर्सा–१ का निवर्तमान सांसद यादवले शहिदहरूले देखाएको सपना साकार पार्नु सबै नेपालीको साझा दायित्व भएको उल्लेख गरे। शहिदहरूको कुर्बानीकै कारण आज नेपाली नागरिकले आफूलाई सार्वभौम नागरिकका रूपमा गर्व गर्न पाएको उनको भनाइ छ।

राणा शासन, पञ्चायती व्यवस्था, पहिलो र दोस्रो जनआन्दोलन, मधेस आन्दोलन तथा हालैको जेन–जी आन्दोलनसम्म भएका विभिन्न संघर्षमा ज्यान गुमाएका सबै शहिदहरूको योगदानलाई स्मरण गर्दै यादवले शहिद दिवसका दिन उनीहरूप्रति नमन व्यक्त गरेका छन्।

सम्बन्धित पोस्टहरुः