वीरगंज , १६ माघ –
वर्षाको पानी निकास नहुँदा लामो समयदेखि डुबानको सास्ती खेप्दै आएका वीरगंज महानगरपालिकाका वडा नं. १७, २४ र २६ का बासिन्दा अन्ततः राहत पाएका छन्। महानगरपालिकाले योजनाबद्ध रूपमा समस्या समाधान गरेपछि स्थानीयमा खुसी छाएको छ।
यी क्षेत्रहरूमा पानीको प्राकृतिक निकास अवरुद्ध हुनुका साथै पर्याप्त नाला र पाइपलाइनको अभावले घर–आँगन, सडक र आवतजावत प्रभावित बन्दै आएको थियो। विगतमा समस्या समाधानका प्रयास भए पनि स्थानीय स्तरमा सहमति नबनेको र प्राविधिक चुनौतीका कारण स्थायी समाधान हुन सकेको थिएन।
महानगर प्रमुख राजेशमान सिंहले प्रमुख जिल्ला अधिकारी, पर्सा प्रहरी प्रमुख र सरोकारवालासँग समन्वय गर्दै अवरुद्ध निकास खोल्न पहल गरेका थिए। प्राविधिक टोलीले पानी जम्ने मुख्य बिन्दु पहिचान गरी ठूला ह्युम पाइप जडान गरी संरचनागत सुधार गरेको छ।
हाल जडान भएका पाइपका कारण वर्षौँदेखि जम्ने पानी सहजै बाहिर निस्कन थालेको छ। स्थानीय बासिन्दाले महानगरको पहलको प्रशंसा गर्दै अब वर्षायाममा ढुक्क बस्न सक्ने विश्वास व्यक्त गरेका छन्।
महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णका अनुसार अन्य डुबान प्रभावित क्षेत्रहरूको पनि क्रमशः समाधान गर्ने योजना छ। साथै, निर्मित संरचनाको नियमित अनुगमन, मर्मत र सरसफाइमा जोड दिँदै शहरी पूर्वाधारलाई थप सुदृढ बनाउने लक्ष्य राखिएको छ।









