कलैया, १६ माघ । बारा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ई. अरविन्द साहले शहीद दिवसको अवसर पारेर आज कलैया उपमहानगरपालिका–१४ बघवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सम्पर्क कार्यालय उद्घाटन गर्नुका साथै घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।
कार्यक्रममा स्थानीय नागरिक, युवाहरू, जेन-जी अगुवाहरू तथा पार्टी कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
सम्पर्क कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै उम्मेदवार साहले देशको लोकतान्त्रिक परिवर्तनका विभिन्न आन्दोलनमा ज्यान गुमाएका सम्पूर्ण शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरे । उनले विशेषगरी जेन-जी आन्दोलनका क्रममा तत्कालीन सरकारले गरेको दमन, हत्या र हिंसाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै ती घटनाहरूले मुलुकको राजनीतिक चेतनामा गहिरो प्रभाव पारेको बताए ।
साहले पछिल्लो समय नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलगायत एमालेका केही नेता तथा नेपाली काँग्रेसका नेताहरूबाट जेन-जी शहीदहरूको विषयमा आएका नकारात्मक टिप्पणीप्रति आपत्ति जनाउँदै यस्ता अभिव्यक्तिले शहीदहरूको बलिदानको अवमूल्यन गर्ने धारणा व्यक्त गरे । उनले भने, “शहीदहरूको सम्मान कुनै दल वा विचारधाराको सीमाभन्दा माथि हुनुपर्छ । देश परिवर्तनका लागि ज्यान गुमाउने हरेक शहीद हाम्रो साझा गौरव हुन् ।”
घरदैलो कार्यक्रमका क्रममा साहले स्थानीयहरूसँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो चुनावी एजेन्डा प्रस्तुत गरे । उनले जेन-जी भावना अनुरूप पारदर्शी शासन, रोजगारी सिर्जना, शिक्षा र प्रविधिमा लगानी, तथा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति आफ्नो प्राथमिकतामा रहेको बताए । साथै, उनले रास्वपाले जेन-जी अगुवाहरूलाई प्रत्यक्ष रूपमा निर्वाचन प्रक्रियामा सहभागी गराएको उल्लेख गर्दै युवाहरूलाई निर्णय निर्माणको केन्द्रमा ल्याउने प्रतिबद्धता जनाए ।
“देशलाई नयाँ दिशा दिन युवाहरूको ऊर्जा, सोच र नेतृत्व आवश्यक छ,” साहले भने, “हामीले जेन-जी शहीदहरूको सपना पूरा गर्न रास्वपाको एजेन्डा अघि सारेका छौँ, जहाँ सुशासन, समान अवसर र नागरिकको सम्मान केन्द्रमा छन् ।”
घरदैलोका क्रममा उनले मतदाताहरूलाई रास्वपाको घण्टी छापमा मतदान गर्दै परिवर्तनको पक्षमा उभिन आग्रह गरे । उनले जेन-जी शहीदहरूको भावनालाई कदर गर्दै पुरानो राजनीतिक अभ्यासलाई तोड्ने र नयाँ सोचका साथ मुलुकलाई अघि बढाउने समय आएको बताए ।
स्थानीय युवाहरू र नागरिकहरूले पनि कार्यक्रममा आफ्ना सुझाव र अपेक्षाहरू राखेका थिए । उनीहरूले रोजगारी, शिक्षा, स्वास्थ्य सेवा र स्थानीय विकासलाई प्राथमिकतामा राख्न उम्मेदवार साहसँग आग्रह गरेका छन् ।
कार्यक्रमको अन्त्यमा साहले शहीद दिवस केवल स्मरणको दिन मात्र नभई परिवर्तनका लागि निरन्तर प्रतिबद्ध हुने सङ्कल्पको दिन भएको उल्लेख गर्दै जनताको विश्वास र समर्थनसहित नयाँ राजनीतिक संस्कृतिको निर्माणमा अघि बढ्ने प्रतिबद्धता दोहोर्याए ।










